काठमाडौं –आगामी १६ मंसिरमा हुने उपचुनावमा नेकपा एमालेका सबै उम्मेदवार सर्वसहमत भएका छन्।
निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार उपचुनाव हुने ४२ वटै पदमा सर्वसहमत उम्मेदवार चयन भएका छन्।
‘सबै ठाउँको उम्मेदवार सर्वसहमतिबाट चयन गरेका छौं। केही ठाउँमा निर्णय हुन बाँकी भएपनि उम्मेदवार टुंगिसकेको छ’, आचार्यले भने।
उनका अनुसार मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारबारे निर्णय हुन बाँकी छ। ‘यी दुवै ठाउँको निर्णय आउन बाँकी छ। तर नेताहरुले सर्वसहमति जुटिसकेको जानकारी दिनुभएकाले भोलिसम्म निर्णय हुन्छ’ आचार्यले भने।
एमालेले शनिबार बोलाएको सचिवालय बैठकबाट उपचुनावका उम्मेदवार टुंग्याउदैछ। तर तल्लो कमिटीबाट सर्वसहमतिबाट नाम आएकाले सचिवालयबाट उम्मेदवारहरु अनुमोदन मात्र हुने नेताहरु बताउँछन्।
उपचुनावका लागि काठमाडौं कीर्तिपुर नगरपालिकाको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर उम्मेदवार बनेको सूचना सार्वजनिक भइसकेको छ। मानन्धरको उम्मेदवारीबारे नगर कमिटी र जिल्ला कमिटीले सर्वसहमति गरिसकेको छ।
मानन्धरकै जस्तोगरी पालिका र जिल्ला कमिटीबाट अरु उम्मेदवारहरु पनि टुंगिएको आचार्यले बताए। उनका अनुसार दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन्।
यस्तै जाजरकोट नलसिंगाड नगरपालिकाको उपमेयरमा सुनिता बोहरा र बाजुरा स्वामीकार्तिक गाउँपालिका उपाध्यक्षमा सुलोचना कुमारी भण्डारी बुढाको नाम टुंगिएको छ।
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको उम्मेदवार जाना शाही र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको छ।
पालिका पदाधिकारीहरुसँगै ३४ जना वडाध्यक्षको उम्मेदवार पनि टुंगिएको छ। उनीहरुको नाम पालिका कमिटीले सर्वसहमति गरेको हो।
सर्वसहमतिबाट आएको नामलाई शनिबारको सचिवालय बैठकले अनुमोदन गर्ने तयारी छ। उपचुनावका लागि आगामी २ मंसिरमा मनोनयन दर्ता हुँदैछ।
सर्वसहमतिबाट आएको नामलाई शनिबारको सचिवालय बैठकले अनुमोदन गर्ने तयारी छ। उपचुनावका लागि आगामी २ मंसिरमा मनोनयन दर्ता हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।