काठमाडौँ- ५ किलो ७ सय ग्राम सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार साँझ नै पक्राउ गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
एयर अरेबियाको जहाजमा यूएईको शारजाहबाट काठमाडौँ आएका चिनियाँ नागरिक जियान जोङ तथा म्यानमारका सान दाइङ तुङ र इ नोङ फुलाई सुनससहित पक्राउ गरिएको थापाले बताए।
उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा जाँचगर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा सो सुन फेला परेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले नियन्त्रणमा लिएको उनको भनाइ छ ।
नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।