काठमाडौं– हङकङका बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
आगामी मंसिर १५ देखि सुरु हुने एनपीएलका लागि कर्णालीले बाबर हायतलाई अनुबन्ध गरेको जनाएको छ।
पाकिस्तानमा जन्मेर हङकङका लाग्दै खेल्दै आएका बाबरले यसअघि पनि नेपालमा आएर क्रिकेट खेलिसकेका छन्। उनीसँग नेपालमा धेरै क्रिकेट खेलेको अनुभव छ।
बाबरले हङकङका लागि २२ ओडिआई र ७९ टी२०आई म्याच खेलेका छन्। टी-२० आईमा उनले १ हजार ९१० रन बनाएका छन् भने १२२ रनको उच्च स्कोर हो। उनको नाममा दुई टी-२०आई शतक पनि छ।
बाबरले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपाल विरुद्धकै खेलमा टी-२० आईमा डेब्यु गरेका थिए।
पावर हिटिङका लागि परिचित बाबरले टी-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र उनको आगमनले टिम अझै बलियो हुने कर्णालीले जनाएको छ।
बाबर कर्णालीले एनपीएलका लागि अनुबन्ध गरेको दोस्रो विदेशी खेलाडी हुन्। यसअघि कर्णालीले पाकिस्तानका हुसेन तलातलाई अनुबन्ध गरिसकेको छ।
नेपाली राष्ट्रिय टिमका पेस बलर सोमपाल कामी मार्की प्लेअर रहेको कर्णालीको मुख्य प्रशिक्षक राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन्।
कर्णाली टिममा राष्ट्रिय टिमका सदस्य गुल्शन झा सहित देव खनाल, भुवन कार्की, रित गौतम, मौसम ढकाल, नन्दन यादव, दीपक डुम्रे जस्ता खेलाडी छन्।
यस्तै कर्णालीकै स्थानीय खेलाडी अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरी पनि टिममा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।