काठमाडौं– सत्तारुढ दल कांग्रेसका सांसदले गिरिबन्धु जग्गामा भएको अनियमिताको अनुसन्धानबारे गृहमन्त्रीसँग जवाफ मागेका छन्। सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद हृदयराम थानीले गिरिबन्धु जग्गामा भएको अनियमितताको अनुसन्धान कहाँ पुगेको छ? भन्दै प्रश्न गरेका हुन्।
‘भ्रष्टाचारका काण्ड उठेका छन्। गिरिबन्धु कहाँ पुगेको छ ? क्याटोन्मेट कहाँ पुगेको छ? यति र ओम्नी कहाँ पुग्यो?,' थानीको प्रश्न थियो। यी प्रकरणमा सरकारले छानबिन गर्ने हो कि होइन भनेर उनले जवाफसमेत मागेका छन्।
समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै गृहमन्त्री रमेश लेखक उपस्थित भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका लागि प्रधानमन्त्री समितिमा आउने कुरा भएपनि अन्तिम समयमा गृहमन्त्रीलाई प्रतिनिधिका रूपमा पठाइएको थियो।
विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसद थानीले भ्रष्टाचार निवारणका लागि सरकारले काम गर्नुपर्ने बताए। मुलुकमा अति हुन नदिनका लागि कदम चाल्नका लागि उनले सुझाव दिए। अति भएमा बिस्फोट हुन्छ भन्ने कुराको ख्याल राख्न सुझाउँदै थानीले भने, 'सरकारमा बसेर सबै ठीक छ भन्नेमा नठान्नुहोस्।'
व्यवस्था बदलिएर पनि जनताको अवस्था बदल्न नसकेकाले जनता निराश रहेको कुरा सरकारले ख्याल राख्नुपर्ने थानीको भनाइ थियो। उनले सरकारी कार्यालयमा चिनजानको अधिकारी नभएमा कागज एक टेबुलबाट अर्को टेबुलमा नसर्ने गरेको आफ्नै अनुभव रहेको बताए । सांसदको अवस्था नै त्यस्तो रहेकोमा सर्वसाधारणको अवस्था के होला ? भन्ने उनको जिज्ञासा थियो।
कांग्रेसकै सांसद सरिता प्रसाईंले भ्रष्टाचार नियन्त्रण नभएको बताएकी छन् । कानुन सबैलाई लाग्नुपर्ने बताउँदै उनले कानुनभन्दा माथि कोही नभएको कुरा हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।