काठमाडौं– दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङलाई चितवन राइनोजले अनुबन्ध गरेको छ। १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय ल्याङलाई चितवनले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चितवनले अनुबन्ध जनाएको छ।
६.७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन्। उनले यस फर्म्याटका १५१ टी–२० खेल खेलेका छन्। ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्टरसायरजस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको उनीसँग अनुभव छ।
त्यसैगरी, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामाबाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरिय फ्रेन्चाइज टोलीको समेत उनले प्रतिनिधित्व गरिसकेका छन्।
सन् २०११ मा श्रीलंकाविरुद्धको टेस्ट डेब्यु गरेका उनले डेब्यु खेलमै सात विकेट लिएका थिए। ल्याङले दक्षिण अफ्रिकाका लागि २ टेष्ट, ४ ओडिआई र ६ टी२०आई खेल खेलेका छन्।
उनलाई सीमित ओभरको क्रिकेटका कारण बढी सम्झिने गरिन्छ। सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध उनले टी–२० आई डेब्यु गरेका थिए।
‘नेपाल प्रिमियर लिगमा चितवन राइनोजको प्रतिनिधित्व गर्न पाउँदा र विश्वका सबैभन्दा जोसिलो फ्यानहरूको अगाडि खेल्न पाउँदा म रोमाञ्चित छु। सुन्दर सहर चितवन र हिमाली राष्ट्र नेपालको यो मेरो पहिलो भ्रमण हुनेछ,’ मर्चेन्ट डी ल्याङले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।