काठमाडौं– नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ।
अमेरिकाको ग्रान्ड प्रेरी रंगशालामा भएको पहिलो खेलमा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रनको स्कोर जोडेको हो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४९ रन जोडे। अन्तिम बलमा दुई रन लिन खोज्दा रन आउट हुँदै अर्धशतक प्रहार गर्न बाट मात्र एक रनले चुके। उनले चार चौका र एक छक्का प्रहार गरे।
यस्तै दीपेन्द्र सिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्काको सहयोगमा २८ रन जोड्दा ओपनर अनिल साह र आसिफ शेखले २७/२७ रन जोडे।
गुलशन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले दुई रन जोडे। करण केसी र आरिफ शेख ० रनमा आउट हुँदा सागर ढकाल पनि शून्य रनमा नटआउट रहे।
अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदीप सिंह र हर्मीत सिंहले २/२ विकेट लिँदा अली खान र नोस्थुज केन्जीले एक/एक विकेट हात पारे। नेपाल र अमेरिकाबीच टी–२० आई खेल पहिलोपटक आयोजना भएको हो।
यो सिरिजपछि नेपालले अमेरिकामै विश्वकप लिग दुई अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।