काठमाडौं – १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने अस्ट्रेलियाको टोली घोषणा भएको छ।
क्रिकेट अस्ट्रेलियाले प्रतियोगितामा सहभागीता जनाउने ७ सदस्यीय टोलीको घोषणा गरेको हो। अस्ट्रेलियाको कप्तानी अलराउन्डर ड्यान क्रिस्टियनले गर्नेछन्। नेपालले आफ्नो खेलमा कात्तिक १७ मा अस्ट्रेलियासँग खेल्नेछ। द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड एकै समूहमा रहेका छन्।
प्रतियोगितामा नेपालको पहिलो खेलमा इङ्ग्ल्यान्डसँग कात्तिक १६ गते रहेको छ। हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन्।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ। प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहेको छ। सहभागी राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई छन्। श्रीलंका, बंगलादेश र ओमान समूह ‘डी’ छन्।
सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो। प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन्।
अस्ट्रेलियन टोली
ड्यान क्रिस्टियन(कप्तान), फवाद अहमद, एलेक्स रोस, जेम्स प्याटिन्सन, ज्याक वुड, साम हेजलेट र एन्ड्रु फ्याकिन्टी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।