काठमाडौं– टि ट्वान्टी आईमा नेपाल र अमेरिका शुक्रवार बिहान पहिलो पटक आमनेसामने हुँदैछन्। सन् २०१४ मा टि ट्वान्टी आई डेब्यु गरेको नेपालले २५औं प्रतिद्वन्दीका रुपमा अमेरिकालाई पाउँदैछ।
टि ट्वान्टी आईमा आफ्नो ९३औं खेलमा नेपालले अमेरिकासँगको खेल शुक्रवार नेपाली समय अनुसार विहान ५ः४५ बजेबाट सुरु हुनेछ। ओडिआईमा ७ पटक आमनेसामने भइसकेका नेपाल र अमेरिका टि ट्वान्टी आईमा भने पहिलो पटक आमने सामने हुँदैछन्।
नेपालले अमेरिकासँग ३ खेलको टि ट्वान्टी आई सिरिज खेलेपछि लिग टु अन्तर्गतको ओडिआई सिरिज खेल्नेछ। त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँगै अमेरिका र स्कटल्यान्ड सहभागी रहने छन्। क्यानडामा भएको लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज र त्यसपछि भएको टि ट्वान्टी आई सिरिजको खराब प्रदर्शनलाई सुधार गर्दै अमेरिका भ्रमणको सुखद सुरुवातको लक्ष्यमा नेपाली टोली रहेको छ।
अमेरिका पनि पछिल्लो टि ट्वान्टी विश्वकप यताको उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ। घरेलु भुमीमा भएको विश्वकपमा पाकिस्तानलाई पराजित गरि सुपर ८ मा स्थान बनाएको अमेरिकाको त्यसपछिको खेलमा धेरै परिवर्तन आएको छ। अमेरिकाले खेलेको पछिल्लो पाँच टि ट्वान्टीमा ३ मा जित र २ मा हार बेहोरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।