भक्तपुर – हरेक वर्ष दशैँको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरू भएको छ।
दुई दिनसम्म चल्ने नेपाल भाषा साहित्य तःमुंज्या व साँस्कृतिक ब्वज्या सम्मेलनमा राजनितिज्ञ, साहित्यकार, कानुनविद् लगायत विज्ञ उपस्थित छन्।
सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरे। सम्मेलन हरेक वर्ष दशैँको द्वादशी र त्रयोदशीका दिन आयोजना हुँदै आएको नेपाल भाषा साहित्य तःमुंज्याका केन्द्रीय अध्यक्ष आशाकुमार चिक्मबञ्जारले जानकारी दिए।
सम्मेलनमा कथा, कविता लगायतका साहित्य प्रस्तुत हुने र मंगलबार विविध मौलिक सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने उनले बताए।
स्थानीय कला साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष नेपाल भाषा साहित्य सम्मेलनको आयोजना गर्ने गरिएको आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।