काठमाडौं- बाढी तथा पहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्गमा मंगलबारदेखि रुटका सवारी साधनहरु चल्ने भएका छन्। वर्षासँगैको पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिइएको थियो। भोलिदेखि रुटमा चल्ने सवारी साधन पनि चल्ने सडक डिभिजन भक्तपुरले जनाएको छ।
दशैंका लागि घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायीहरुले आजदेखि ठूला बसहरु समेत चलाउन खोजेका थिए। तर चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्या भएकोले चल्न सकेका छैनन्।
भकुन्डेबेसी बर्षेखोला खण्डमा अहिले पनि सुख्खा पहिरो झर्ने जोखिम छ। रातको समयमा यात्रा नगर्न समेत सबैलाई आग्रह गरेको छ। बीपी राजमार्गमा साना सवारी मात्र सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गरेको छ।
असोज १०, ११ र १२ गतेको वर्षाका कारण यो राजमार्ग अवरुद्ध थियो । उक्त राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेसीदेखि वर्षेखोला खण्डको ८ किलोमिटर पूर्ण रूपमा बगाएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।