काठमाडौं– महिला विश्वकप क्रिकेटमा भारतको सेमिफाइनल यात्रा कठिन मोडमा पुगेको छ।
समूह चरणको खेलमा आईतबार अष्ट्रेलियासँग ९ रनले पराजित बनेपछि भारत सेमिफाइनल पुग्ने समिकरण निकै कठिन बनेको हो।
सुरुवातमा ब्याटिङ गरेको अष्ट्रेलियाले ८ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो। ओपनर ग्रेस हेरिसले ४० रन बनाएको ईनिङ्समा ताहलिया मेकग्राथ र एलिसे पेरीले समान ३२ रन बनाएका थिए।
जवाफी ब्याटिङमा आएको भारतले ९ विकेट गुमाएर १ सय ४२ रनमात्र बनाउन सक्यो। भारतका लागि कप्तान हरमनप्रीत कौरले अविजित ५२ रन बनाईन्। दीप्ति शर्माले २९ र शेफाली वर्माले २० रन बनाईन्। अन्य कुनै खेलाडीले छाप छाड्न सकेनन्।
अब भारतीय टिमको सेमिफाइनल यात्रा नेट रनरेटका आधारमा हुने भएको छ। समूह एमा अष्ट्रेलिया सबै ४ खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरिसकेको छ। भारत ४ अंक सहित दोस्रो स्थानमा छ। जसको नेट रनरेट प्लस ० दशमलव ३२२ छ।
चार अंक सहित न्युजिल्याण्ड तेस्रो नम्बरमा छ। उसको नेट रनरेट ० दशमलव २८२ छ। समूहको अन्तिम खेलमा न्युजिल्याण्ड र पाकिस्तान खेल्दैछन्। न्युजिल्याण्डले जितेको खण्डमा सिधै सेमिफाइनल पुग्नेछ। यसबाट भारत र पाकिस्तान बाहिर हुनेछन्।
यदी पाकिस्तानले न्युजिल्याण्डलाई हराएको खण्डमा न्युजिल्याण्ड र भारतको अंक बराबरी हुनेछ र नेट रनरेटका आधारमा नतिजा निर्धारण हुनेछ। त्यस्तो अवस्थामा भारत अघि बढ्ने सम्भावना रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।