काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याटर अर्जुन कुमाललाई सुदूरपश्चिम रोयल्सले ७ लाख ५० हजार रुपैयाँमा किनेको छ। उनले न्यूनतम मूल्य ५ लाख राखेका थिए।
सुरुमा पोखराले उनलाई मूल्य लगाए पनि केही समयपछि सुदूरपश्चिम जोडिएको थियो। त्यसपछि उनलाई सुदूरपश्चिमले ७ लाख ५० हजार रुपैयाँ तिर्यो।
ओपनिङ ब्याटर अर्जुनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन्। नेपाल ए बाट उनले आयरल्यान्ड ए बीविरुद्ध शतक हानेका थिए।
अर्जुन नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन्। एसिसी यू-१९ प्रिमियर कप २०२३ अक्टोबरमा अर्जुनले साउदी अरेवियाविरुद्ध १४३ रन बनाएका थिए।
नेपाली क्रिकेट टोलीका अनुभवी ब्याटर शरद भेषवाकरलाई भने एनपीएलमा कुनै पनि टोलीले किन्न चाहेनन्।
क्याटेगोरी ‘ए’ मा १० लाख रुपैयाँमा नाम राखेका भेषवाकरलाई कुनै पनि टोलीले लिन चाहेनन्। उनी सुरुवातमा अनसोल्ड भएका हुन्। अब उनलाई लिन चाहेको खण्डमा ग्रेड ‘बी’ मा ५ लाख रुपैयाँमा लिनुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।