हेटौँडा- मकवानपुरको हेटौँडाबाट ८ किलो सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्थानका २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान ३ बजे हेटौँडा-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा सुन बरामद भएको हो।
बरामद गरिएको ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको छ। उनीहरुको साथबाट शरीरमा रुमालले बेरेर बिस्कुटको आकारको ८ थान सुन फेला पारेको प्रहरीले जानकारी दिएको छ।
उनीहरू जनकपुरबाट सुन लिएर पथलैयासम्म बसमा आएका थिए। पथलैयाबाट भने स्कुटरमा हेटौँडातर्फ आउँदै गरेका थिए।
बरामद भएको सुन र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।