काठमाडौँ- जिल्ला अदालत काठमाडौंले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा बुढानीलकण्ठका आशिष देउलासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
बुधबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले देउलासँगै उदयपुरको त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरुङलाई थुनामा पठाउन आदेश दिएको हो।
एक युवकको जाहेरीमा देउला र तामाङ मात्रै प्रतिवादी थिए। अर्को युवकको जाहेरीमा भने चारै जनालाई विपक्षी बनाइएको थियो। दुई फरक जाहेरी र मुद्दा भएपछि कसुर गर्ने व्यक्ति एकै रहेकाले लगाउमा राखेर यी दुबै मुद्दाको सुनुवाइ भएको थियो।
उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २११ को उपदफा १ र २ को बमोजिम अपहरण गरी शरीर बन्धक गरेको कसुर र दफा १८३ को ज्यान मार्ने उद्योगको कसुरमा कारबाही हुने माग गरिएको थियो।
सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’ बाट परिचित देउलाको समूहले युवा युवतीलाई यातना दिएर आनन्द लिएको आरोप लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।