काठमाडौं– नेकपा एकीकृत समाजवादीले सांसदहरुको तलबबाट १५ दिनको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
पार्टी उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले प्रतिनिधिका १० र राष्ट्रिय सभाका ८ जनागरी नेकपा एसका १८ जना सांसदले १५ दिनको पारिश्रमिक जम्मा गर्ने जानकारी दिए।
यता दलको बैठक नै नबसी प्रमुख सचेतक मेटमणि चौधरीले बैठकको हवाला दिँदै संसद सचिवालयलाई पार्टीका सांसदको पारिश्रमिक कटाएर दिन पत्र पठाएको भन्दै केही सांसदले आपत्ति जनाएका छन्।
दलको बैठक बसेको छैन, सांसदहरुलाई फोन गरेको पनि छैन र कुनै जानकारी समेत नदिई मेटमणिले किर्ते काम गरेका छन्। यसबारेमा दलका नेता माधव नेपाललाई हामी भेटेरै आपत्ति जनाउने एकीकृत समाजवादीका एक सांसदले बताए।
चौधरीले असोज १६ गते सचिवालयलाई लेखेको पत्रमा संसदीय दलको निर्णय अनुसार नेकपा एसका सांसदहरुको पार्टी लेवी र करकट्टी रकम कट्टा गरी बाँकी हुने आउने १५ दिन बराबरको तलब कोषमा जम्मा गर्न भनिएको छ।
सांसदहरुले भने दलको बैठक नबसी निर्णयको हवाला दिएर चौधरीले पत्र लेख्नु किर्ते भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।