काठमाडौं– सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन्। उनका अनुसार २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्। १५८ जना घाइते भएका छन्।
बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ। त्यस्तै उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ।
कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पारिने मुख्य सचिव अर्यालले बताए।
खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना छ। घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्य सचिव अर्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।