काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा सर्वाधिक मूल्यमा बिक्री भएको छ। स्रोतका अनुसार साढे तीन करोड रुपैयाँमाथि मूल्यमा पोखरा टिम बिक्री भएको हो।
व्यवसायी सुबोध त्रिपाठीले सर्वाधिक मूल्य हालेर पोखरा एभेन्जर्सको स्वामित्व लिएका हुन्। उनले यसअघि नेपाल क्रिकेट संघ (क्यान) कै नेपाल ट्वान्टी– २० लिगमा पोखरा एभेन्जर्स लिएका थिए। फ्रेन्चाइज क्रिकेटमा पोखरा नाम पाउनुपर्ने उनले माग गर्दै आएका थिए।
पोखरामा यसअघि समेत लगानी गरिसकेको हुनाले उनले सर्वाधिक मूल्य हालेर पोखरा लिएका हुन्। सुबोधको स्वास्थ्य, शिक्षा हित विभिन्न क्षेत्रमा लगानी रहेको छ।
उनले पोखराको टिम लिन ३ करोड ५७ लाख रुपैयाँमा खरिद गरेका हुन्। यस्तै, पोखरा जस्तै उच्च मूल्यमा बिक्री हुने टिम काठमाडौं बनेको छ। काठमाडौंको स्वामित्व कान्तिपुर मिडिया ग्रुपले लिएको छ। उसले ३ करोड ३३ लाख रुपैयाँमा काठमाडौं किनेको हो ।
यस्तै चितवन मेडिकल कलेजले चितवनको स्वामित्व लिएको छ भने उसले १ करोड ७६ लाख रुपैयाँ मुल्य हालेको छ।
यस्तै विराटनगरको स्वामित्व एमएडी ड्रिम्स स्पोर्ट्सले लिएको छ। उसले १ करोड ५१ लाख रुपैयाँ मूल्य हालेको छ। यस्तै फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख रुपैयाँमा टिम लुम्बिनीको स्वामित्व लिएको छ।
टिम जनकपुर २ करोड ५ लाखमा बिक्री भएको छ। जनपुरको स्वामित्व ड्रिम स्पोर्ट्सले लिएको हो। यस्तै सुदूरपश्चिम एमपायर स्पोर्ट्सले १ करोड ६८ लाखमा र हिमालयन बिल्डर्सले टिम कर्णालीको स्वामित्व १ करोड ११ लाखमा लिएको छ।
क्यानले ८ टिमलाई लिलामीमा राखेर बोलकबोलमार्फत बिहीबार बिक्री गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।