एजेन्सी– अधिकारीहरूले संदिग्ध तोडफोडको अनुसन्धान गरिरहेकाले जर्मन सैन्य अड्डालाई बुधबार सिल गरिएको रक्षा मन्त्रालयले बताएको छ। पानी आपूर्तिमा छेडछाड भएको हुनसक्ने सञ्चारमाध्यमहरूले बताएका छन्।
रक्षा मन्त्रालयका प्रवक्ता कर्नल अर्ने कोलाट्जले बर्लिनमा पत्रकारहरूसँग भने, “घुसपैठको प्रयास र तोडफोडको आशङ्कामा कोलोन–वाहन अड्डालाई बन्द गरिएको छ।”
डेर स्पिगल पत्रिकाले प्रहरी र जर्मन सेनाको काउन्टर–इन्टेलिजेन्स सेवाले स्पष्ट घुसपैठको अनुसन्धान गरिरहेको बताएको छ। पत्रिकाले स्रोतलाई उद्धृत गर्दै बारमा प्वाल फेला परेको बताएको छ।
बुन्डेसवेहर अड्डामा पानीको आपूर्ति ‘दूषित हुनसक्ने’ चिन्ताका बीच सैनिक र सर्वसाधारणलाई धाराको पानी नपिउन सल्लाह दिइएको पत्रिकाले बताएको छ।
कोलोन–बोन विमानस्थलनजिकै अवस्थित कोलोन–वाहन अड्डामा जर्मन सशस्त्र बलका धेरै सैन्य र नागरिक सुविधाका साथै चान्सलर ओलाफ सोल्स र उहाँका मन्त्रीहरूले सरकारी भ्रमणका लागि प्रयोग गर्ने विमानहरू छन्।
स्पिगलका अनुसार करिब चार हजार तीन सय सैनिक र एक हजार दुई सय नागरिक साइटमा काम गर्दछन्।
यो अड्डा युक्रेनका लागि सैन्य सहायताका लागि महत्त्वपूर्ण केन्द्र पनि हो। स्पिगलले जर्मनीमा प्रशिक्षण प्राप्त गरेपछि युक्रेनी सैनिकहरू त्यहाँबाट पोल्यान्ड हुँदै नियमितरूपमा घर उड्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।