काठमाडौं- एक किलो ४०० ग्राम कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन्। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रुपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वरस्थित एक होटलमा बसेका तान्जेनियन नागरिक जुमाको झोला भित्र लुकाएर राखेको ८० क्याप्सुल कोकिन बरामद गरेको छ।
जुमाले उक्त कोकिन भारतीय नागरिकलाई बिक्री गर्ने क्रममा भारतीय नागरिकलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
बरामद कोकिनको अवैध बजार मूल्य करिब रु तीन करोड ८७ लाख हुन आउने ब्यूरोले जनाएको छ। पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।