एजेन्सी-गत महिना आन्दोलनका क्रममा प्रहरीले व्यक्ति हत्या गरेको आरोपमा बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिना र उनको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
एक साताअघि ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेकी थिइन् । आरक्षणविरुद्ध र उनको राजीनामा माग गर्दै भएको हिंसात्मक प्रदर्शनमा चार सय ५० भन्दा बढी मानिस मारिएका थिए ।
मुद्दा दायर गरेका मामुन मियाले शेख हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दर्ता गरिएको बताए । उनका अनुसार महानगरीय अदालतले प्रहरीलाई ‘आरोपित व्यक्तिहरूविरुद्ध हत्याको मुद्दा’ स्वीकार गर्न आदेश दिएको थियो । यो बङ्गलादेशी कानूनअन्तर्गत फौजदारी अनुसन्धानमा पहिलो कदम थियो ।
मुद्दामा हसिनाका पूर्वगृहमन्त्री असदुज्जामान खान र हसिनाको अवामी लिग पार्टीका महासचिव ओबैदुल कादिरको नाम पनि समावेश गरिएको छ । यसमा हसिना सरकारले नियुक्त गरेका चार शीर्ष प्रहरी अधिकारीको पनि नाम छ । उनीहरूलाई पदबाट बर्खास्त गरिएको छ ।
उक्त मुद्दामा एक किराना पसलका मालिकको मृत्युको जिम्मेबारी सात जनालाई लगाइएको छ । जुलाई १९ मा विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउने क्रममा प्रहरीले उनको गोली हानी हत्या गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।