काठमाडौं– बागलुङको पहिरोमा परी घाइते भएका तीन जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार सुरु गरिएको छ।
बागलुङको बडिगाड गाउँपालिका वना नम्बर १० का तीनजना घाइतेलाई आज बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको थियो।
सेन्टरको आकस्मिक विभागका प्रमुख डा महेश कर्माचार्यका अनुसार पहिरोमा परी घाइते भएका १९ वर्षीया रिमा पुन, २५ वर्षीया सिता थापा र ४६ वर्षीया तुलसी बुढाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
उनका अनुसार ४६ वर्षीया तुलसी बुढाको अवस्था भने गम्भीर छ। उनको कम्मरको हड्डी भाँचिएको, मुत्रथैलीमा चोट लागेर रगत बगेको, देव्रे पाखुराको जोर्नीमा चोट र करङ भाँचिएको छ।
उनलाई सिटी स्क्यान लगायत परीक्षणपछि आइसीयूमा सारिने डा कर्माचार्यले बताए। ‘बिरामी आउँदा सकमा आउनुभएको थियो, रक्तचाप एकदमै लो थियो, उहाँलाई आइसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले आइसीयू सिफ्ट गर्दै छौ।’उनले भने, ‘उहाँ खतरामुक्त हुनुहुन्न।’
डा कर्माचार्यका अनुसार अर्की घाइते १९ वर्षीया पुनको पनि करङ भाँचिएको र छातीमा चोट लागेको छ। २५ वर्षीया थापाको अवस्था भने सामान्य भएकाले वार्डमा सिफ्ट गरेर उपचार गर्न लागिएको छ।
बागलुङमा तीनै जना मंगलबार गएको पहिरोमा परेका थिए। उनीहरुलाई घटनास्थलमै स्थानीय स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेर बुधबार बिहान हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको हो।
गण्डकी प्रदेशका सांसद जीत शेरचनका अनुसार मंगलबार बागलुङको बडिगाड गाउँपालिका वना नम्बर ९ र १० पहिरो गएको थियो। पहिरोमा परी हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। उनीहरुको पोष्टमार्टम भइसकेको छ। यस्तै पहिरोमा २ जना अझै बेपत्ता छन्। पहिरोमा पनि एकदर्जन घर पुरिएका छन्।
तीनजना घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको र अन्य घाइतेहरुको स्थलमार्गमार्फत काठमाडौं ल्याइँदै छ।
गण्डकी प्रदेश सांसदका शेरचनका अनुसार करिब ५ जनालाई बागलुङमै प्राथमिक उपचार पनि एम्बुलेन्स मार्फत काठमाडौं ल्याइदैं छ।
यसैबीच स्वाथ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय ट्रमा सेन्टरमै पुगेर पहिरोमा परि घाइते भएकाहरुलाई भेटेका छन्। उनले घाइतेहरुको अवस्था बुझेपछि सन्टरलाई सबै घाइतेको उपचार निशुल्क गर्न निर्देशन पनि दिएका छन्।
पहिरोमा परी घाइते अवस्थामा ल्याइएका तीनै जनाको निशुल्क उपचार गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा रुद्र मरासिनीले बताए।
उनले भने, ‘अहिले हाम्रो अस्पतालमा बागलुङ पहिरोका ३ जना घाइते उपचाररत हुनुहुन्छ, एकजना आइसीयू र दुईजनालाई वार्डमा भर्ना गरिदैं छ। स्वास्थ्यमन्त्रीको निर्देशन पछि हामीले उहाँहरुलाई निशल्क उपचार गर्ने व्यवस्था मिलाएका छौ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।