विराटनगर– नेकपा (माओवादी केन्द्र) बाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएका छन्।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, स्वास्थ्य मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री नारायणबहादुर मगर र पर्यटन राज्यमन्त्री वन्दना झागरले राजीनामा बुझाएका हुन्।
माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीको राजीनामा दिएको हो। माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज राजीनामा दिएको बताएका छन्। तत्कालका लागि सरकारलाई दिएको समर्थन भने कायमै रहने माओवादीले जनाएको छ।
गत असार १७ गते केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबिच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बाहिएको हो । केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ।
संविधानको धारा १६८ (५) अन्तर्गत एमालेका ३९ र माओवादीका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा हिक्मतकुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।