काठमाडौं– एसीसी महिला टी–२० प्रतियोगितामा भारत फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।
बंगलादेशले दिएको ८१ रनको लक्ष्य भारतले मात्र ११ ओभरमा बिना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। भारतको जितका लागि भारतीय ओपनर स्मृति मन्धाना र सेफाली वर्माले ८३ रनको साझेदारी गरेका थिए।
३९ बलको सामाना गर्दै मन्धानाले ९ चौका र एक छक्का प्रहार गर्दै ५५ रन जोडिन् भने वर्माले २८ बलमा २ चौकासहित २६ रन जोडिन्।
यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ८० रन बनाएको थियो। बंगलादेशका लागि सर्वाधिक कप्तान निगर सुल्तानाले ५१ बलमा ३२ रन बनाइन् भने सोर्ना अख्तरले नटआउट १९ रन जोडिन्। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बंगलादेशलाई सस्तैमा समेट्न कसिलो बलिङ गर्दै रेनुका सिंहले ४ ओभरमा एक मेडनसहित मात्र १० खर्चिँदै तीन विकेट लिइन्। यस्तै राधा यादवले पनि ४ ओभरमा एक मेडनसहित १४ रन खर्चिएर ३ विकेट हात पारिन्।
दीप्ती शर्मा र पूजा भस्ट्रकरले एक/एक विकेट लिए। समूह चरणमा तीनवटै खेल जितेर आएको भारतले सेमिफाइनलमा बंगलादेशलाई हराउँदै अपराजित फाइनल प्रवेश गरेको हो। अर्को सेमिफाइनल खेल श्रीलंका र पाकिस्तानबीच केही बेरमा सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।