काठमाडौँ- महिला एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ। नेपालको जितमा कप्तान इन्दु बर्मा र ब्याटर सम्झना खड्काले उत्कृष्ट प्रदर्शन गरे।
टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गर्यो।
कप्तान इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन्। अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाइन्।
रुविना क्षेत्रीले १०, सीता रानामगरले ७, कप्तान इन्दु बर्माले ६ र कविता कुँवरले २ रन बनाएर आउट भए । पूजा महतो ७ रनमा अविजित रहिन्।
युएईका तर्फबाट खुसी शर्माले सर्वाधिक ३६, कविशा इगोडेज २२, समाइरा धरनिधर्क १३, कप्तान इशा ओजा १० रनमा आउट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।