काठमाडौँ- महिला एसिया कप क्रिकेट अन्तर्गत शुक्रबार जारी खेलमा यूएईले नेपालसामु ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११५ रन बनाएको छ।
यूएईलाई सस्तैमा समेट्ने क्रममा नेपालकी कप्तान इन्दु बर्माले ३ विकेट लिइन्। उनले चार ओभरमा १९ रन खर्चिइन्। सबनम राई, कृतिका मरासिनी र कविता जोशीले पनि एक/एक विकेट हात पारे। यूएईका लागि छैटौँ नम्बरकी ब्याटर खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन्।
यसैगरी कविसा एगोडेगले २२ रन बनाइन्। समाइरा धरनिधरकाले १३ र कप्तान एसा ओजाले १० रन जोडे।
साउन ४ देखि १३ गतेसम्म श्रीलंकामा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल र यूएई प्रतियोगिताको समूह ‘ए’मा परेका छन्। दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तानसँगै पनि सोही समूहमा छन्।
प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।