इस्लामावाद- पाकिस्तान सरकारले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तहरिक-ए-इन्साफ (पीटीआई)लाई प्रतिबन्ध लगाउने भएको छ। इमरान खान, आरिफ अल्वी र कासिम सुरीविरुद्ध अनुच्छेद ६ अनुसार कारबाही गर्न मागसहित सरकारले सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने निर्णय गरेको छ।
पाकिस्तान सरकारमा संलग्न दलहरूले पाकिस्तान तहरिक–ए–इन्साफको आरक्षित सिटहरूका सम्बन्धमा सर्वोच्च अदालतको निर्णयको विरुद्धमा पुनः पुनरावेदन दायर गर्ने पाकिस्तानका केन्द्रीय सूचना मन्त्री अता तरारले एउटा पत्रकार सम्मेलनमा भनेका थिए।
‘यसबाहेक मे ९ मा भएको हमला, साइफर काण्ड र अमेरिकासँगको सम्झौता जस्ता प्रमाणहरू पनि छन्, जसको आधारमा पीटीआईमाथि प्रतिबन्ध लगाउन सकिन्छ। त्यसैले सरकारले सबै प्रमाणहरू हेरेर पीटीआईमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ उनले भनेका छन्।
पीटीआईले तालिबानलाई पाकिस्तानको क्षेत्रमा ल्याएको र देश विरुद्ध षड्यन्त्र रचेको आरोप पनि उनले लगाए। ‘पीटीआईलाई विदेशी कोष दिइएको थियो, जसमा भारतीय र इजरायली कोष समावेश थियो,’ केन्द्रीय सूचना मन्त्री अता तरारले भनेका छन्।
पीटीआईका नेताहरूले राष्ट्रविरोधी शक्तिहरूलाई बलियो बनाएको आरोप पनि लगाइएको छ। यी घटनामा संलग्न सबैलाई कानुनी कारबाही गरिने र राहदानी जफतलगायत कडा कारबाही गरिने पनि बताइएको छ।
-एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।