काठमाडौं– सरकारले नै बजेटमा संशोधन दर्ता गराएको छ/ सोमबार राष्ट्रिय सभा बैठकमा नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विधेयक २०८१ को दफा ३६ को उपदफा (६) मा संशोधन प्रस्तुत गरेका हुन्। अर्थमन्त्री पौडेलले उक्त उपदफामा रहेको ‘तर’ पछि ‘स्टार्टअप, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्डमा’ भन्ने शब्द थप गर्ने गरी संशोधन प्रस्ताव राष्ट्रिय सभामा पेस गरका हुन्।
यसअघि आर्थिक विधेयकमा ‘तर, साविकका सेयरवाला वा साझेदारको सेयर संख्या र पूँजी यथावत रही नयाँ सेयरवाला वा साझेदार थप भई पूँजी वृद्धि भएको अवस्थामा यो उपदफा लागु हुने छैन,’ भन्ने उल्लेख थियो।
अर्थमन्त्री पौडेलले दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत पनि भएको छ। अब आर्थिक विधेयकको दफा ३६ को उपदफा ६ मा ‘तर, स्टार्टअप, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्डमा साविकका सेयरवाला वा साझेदारको सेयर संख्या र पूँजी यथावत रही नयाँ सेयरवाला वा साझेदार थप भई पूँजी वृद्धि भएको अवस्थामा यो उपदफा लागु हुने छैन,’ भन्ने उल्लेख हुनेछ।
आर्थिक विधेयक प्रतिनिधिसभाले पारित गरिसकेको सन्दर्भमा राष्ट्रिय सभाले गरेको संशोधन सुझावका रूपमा पुनः प्रनिनिधिसभामा जाने छ। प्रतिनिधिसभाले यो स्वीकार गरे त्यो आर्थिक विधेयकको अंश बन्ने छ। गरेन भने प्रतिनिधिसभाले पारित गरेकै आर्थिक विधेयक कानुन बन्ने छ। ‘राष्ट्रिय सभाले पठाएको संशोधन प्रतिनिधिसभाले पनि स्वीकृत गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो। सरकार आफैंले संशोधन दर्ता गरेपछि यो दफामा यसअघि एमाले प्रमुख सचेतक भगवती न्यौपानेले दर्ता गरेको संशोधन फिर्ता लिएकी थिइन्/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।