काठमाडौँ- नेकपा (एमाले)ले समयमा अधिवेशन नगर्ने ११ जिल्लाको नयाँ अधिवेशन मिति तोकेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले ११ जिल्लालाई आगामी कात्तिक मसान्त भित्र अधिवेशन गर्न निर्देशन दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
एमालेले गत जेठ मसान्त भित्र अधिवेशन सम्पन्न गर्न सबै जिल्ला कमिटीलाई निर्देशन दिएको थियो। उपमहासचिव ज्ञवालीका अनुसार ६६ जिल्लाको मात्र अधिवेशन सम्पन्न भएको छ।
एमालेका इलाम, मोरङ, तेह्रथुम, सप्तरी, सिराहा, धनुषा, मनाङ, डोल्पा, डोटी, अछाम र बझाङका जिल्ला कमिटीको अधिवेशन हुन बाँकी छ।
यस्तै सचिवालय बैठकले सबै जिल्लालाई साउन महिना भित्र पार्टी सदस्यता नवीकरण गर्न र भदौ महिनामा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।