काठमाडौं– एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली बुधबार सम्पन्न आफ्नो दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ। नेपाली टोली दोस्रो खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग चार विकेटले पराजित भएको हो।
दोस्रो अभ्यास खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६ रन बनाएको थियो। नेपालका लागि कविता कुँवरले ३४ बलमा सर्वाधिक २९ रन बनाएकी थिइन्। नेपाली टोलीका लागि कप्तान ईन्दू बर्माले पनि ४३ बलमा २८ रन बनाएकी थिइन्।
जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीले भने १९.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो। श्रीलंकाली टोलीको जितमा एन. सेनारत्नेले ३७ बलमा २७ रनको योगदान गरिन्। एस. सन्दीपानीले पनि २१ बलमा १९ रन बनाइन्। नेपाली टोलीकी बलर सबनम राई र कविता जोशीले एक–एक विकेट लिए।
अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि मंगलबार खेलिएको पहिलो अभ्यास खेलमा नेपाली टोली श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको थियो। त्यो खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो।
वर्षाका कारण नेपालले १५ ओभरमा ९६ रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो। तर, नेपालले १५ ओभरमा नौ विकेट गुमाएर ६३ रनमात्र बनाउन सकेको थियो। नेपालका लागि ब्याटिङतर्फ रुविना क्षेत्रीले १७ र सीता रानामगरले ११ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।