काठमाडौं– एमाले र कांग्रेसबीच नयाँ सरकार गठनको सहमति भएपछि हरेक दिन चल्ने प्रतिनिधि सभा बैठकमा एमाले र माओवादीका सांसदहरुबीच सवाल–जवाफ चलिरहेको छ। माओवादीले आफूहरुसँगको सहकार्य तोड्नुको कारण खुलाउन माग गरिरहेको छ भने एमालेले संविधानअनुसार सरकार चलाउनका लागि नयाँ गठबन्धन बनेको बताइरहेको छ।
साथै एमाले र कांग्रेस प्रधानमन्त्रीलाई छिटो राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका छन्। मंगलबारको प्रतिनिति सभा बैठकमा पनि यस्तै सवाल–जवाफ चलिरहेको छ।
माओवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुन उद्देश्यका लागि आफूहरुसँगको सहकार्य तोडिएको हो त्यसको जवाफ दिन माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा माओवादीको तर्फबाट सदनमा बोल्दै सांसद राजन दाहालले ओलीले पटक पटक प्रस्ताव गरेपछि चार महिनाअघि प्रचण्ड सहकार्यका लागि सहमत भएको समेत जनाए।
उनले भने, ‘चार महिना अगाडि ओलीकै पटक पटकको प्रस्तावमा राजनीतिक र रणनीतिक हिसाबले अगाडि बढ्नुपर्छ भनेपछि कमरेड प्रचण्डले स्वीकार्नु भयो। त्यही अनुसार हाम्रो सत्ता सहकार्य अगाडि बढेको थियो। मैले यहीबाट प्रश्न गर्नुपर्छ, यहाँले जुन उद्देश्यले सहकार्य गर्नुभयो? अहिले कुन उद्देश्यसँग केन्द्रित भएर यो सहकार्य तोड्नुभयो?’
उनले प्रचण्डले नेतृत्व गरेको सामाजिक न्याय, सुशासनको केन्द्रीय कार्यभारबाट किन भागेको भन्दै प्रश्न गरे। के कारणले सहकार्य सुरु भयो, र के कारणले तोडियो त्यसको जवाफ ओलीले दिनै पर्ने उनको तर्क छ।
यता एमालेका सांसदले सरकारमा जानकै लागि मात्र नयाँ गठबन्धनमा नगएको बताएका छन्। नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले सरकारमा जानकै लागि नभएर निश्चित उद्देश्य लिएरमात्रै एमाले सरकारमा जाने जिकिर गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अब बन्ने सरकार संविधानको धाराभित्रैबाट भन्ने बताए। नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ (३) अनुसार नयाँ सरकार बन्ने जिकिर गरिरहेका बेलामा उनले त्यसको जवाफ दिँदै भने, ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो। बालाजुको बाइसे धाराबाट बन्दैन। त्यसको चिन्ता तपाईंहरुले गर्नुपर्दैन।’
कांग्रेसले संविधानको धारा ७६ (२) अनुसार एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ, तर ३ मा गए सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।
राजनीतिक स्थिरता कायम गर्ने उद्देश्यले नै कांग्रेससँग मिलेको एमाले सांसद रिजालले जिकिर गरे। प्रधानमन्त्री प्रचण्ड गतिशील नभएर अस्थिर भएको उनले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।