काठमाडौं-पोल्यान्ड युरो कप-२०२४ बाट बाहिरिएको छ । गएराति बर्लिनमा सम्पन्न खेलमा अस्ट्रियाविरुद्ध ३-१ ले पराजित भएसँगै पोल्यान्ड समूह चरणको एक खेल बाँकी छँदै बाहिरिएको हो ।
दोस्रो हाफमा थप दुई गोलको मद्दतमा रोमाञ्चक जित हात पारेको अस्ट्रियाले नकआउट चरणमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ । अस्ट्रियाको जितमा गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को एर्नाउटोभिकले गोल गरे । पोल्यान्डका क्रिस्जटोफ पिएटेकले एक गोल फर्काए ।
नवौं मिनेटमा ट्राउनरको गोलबाट अस्ट्रियाले अग्रता बनाएको थियो । ३० औं मिनेटमा पोल्यान्डका क्रिस्जटोफ पिएटेकले गोल गर्दै खेल १-१ को बराबरी अवस्थामा फर्काए । ६६औं मिनेटमा बाउमगार्टनर र ७८औं मिनेटमा मार्को एर्नाउटोभिकले पेनाल्टीमा गोल गर्दै अस्ट्रियाको जित सुनिश्चित गरे ।
यस जितले अस्ट्रियाको समूह डीमा दुई खेल खेल्दै ३ अंक जोडेको छ । समान खेलबाटै पोल्यान्डले अंक जोड्न सकेको छैन । यो समूहमा नेदरल्यान्ड्स र फ्रान्सको समान ४ अंक छ । अब समूह चरणको अन्तिम खेलमा अस्ट्रियाले नेदरल्यान्ड्ससँग तथा पोल्यान्डले फ्रान्ससँग खेल्नेछ । पोल्यान्डले फ्रान्सलाई हराए पनि टोलीलाई अघिल्लो चरण पुग्न पर्याप्त हुने छैन । गए राति सम्पन्न यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्स र फ्रान्सले गोल रहित बराबरी खेले । समूह ई को खेलमा युक्रेनले स्लोभाकियालाई २-१ ले पराजित गर्यो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।