जनकपुरधाम– हुण्डी कारोबारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक पिसाब फेर्ने बहानामा गौर भन्सार कार्यालयबाटै फरार भएका छन्।
फरार हुनेमा भारतीय नागरिक ३१ वर्षीय गजेन्द्र राय छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका ७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित पक्राउ गरेको थियो।
सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि रायलाई बिहिबार गौरस्थित भन्सार कार्यालय लगेको बेला भागेका हुन्। राय फरार हुनुमा सशस्त्र प्रहरीको चरम लापरवाही देखिएको छ। लापरवाही ढाकछोप गर्न सशस्त्र प्रहरीले घटना बाहिर ल्याउन चाहेका छैनन्। उनलाई पुनः समात्न सीमा नाकामा कडाई गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी एसपी दिलीप घिमिरेले घटनाबारे थाहा नभएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।