काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकपमा नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ ।
आईसीसीले तान्जिमलालाई म्याच फिको १५ प्रतिशत रकम काटिने गरी कारबाही गरिएको जनाएको हो ।
सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउने क्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि भनाभन भएको थियो। त्यसक्रममा तान्जिमले रोहितलाई हातले धक्कासमेत दिएका थिए । ताम्जिमलाई बंगलादेशका लिटन दास र रोहितलाई आसिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए ।
आईसीसीले आचारसंहिता २.१२ उल्लंघन गरेको पाइएकाले उनीमाथि कारबाही गरिएको जनाएको छ । नेपाललाई ८५ रनमा अल आउट गर्न तान्जिमले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका थिए । यो खेलमा बंगलादेशले नेपाललाई २१ रनले हराउँदै समूह डी बाट ६ अंकका साथ सुपर ८ मा स्थान बनाएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।