काठमाडौं– शुक्रबारको प्रतिनिधि सभा बैठकमा विनियोजन माथि छलफल चलिरहेको छ। तर सुम्बन्धित मन्त्रालयका मन्त्री नै अनुपस्थित छन्।
छलफलमा बोल्ने क्रममा सांसद डा अमरेश कुमार सिंहले एक मिनेटपछि खानेपानी मन्त्री र सञ्चारमन्त्रीलाई खोजे। उनले सभामुखमार्फत् रुलिङको माग गरे। उनले भने, ‘सभामुख महोदय विनियोजनमाथि छलफल सुरु हुँदा खानेपानी मन्त्री र सञ्चारमन्त्रीलाई देखिरहेको छैन। उहाँहरु नभइ कसरी छलफल हुन्छ। कि मन्त्रीबिनै छलफल हुन्छ?’
सभामुखले पनि सदनमा मन्त्री नदेखेपछि केही समय अमरेशलाई रोस्ट्रममै रोके र मन्त्रीहरुलाई तत्काल उपस्थित हुन अनुरोध गरे। त्यसपछि सिंहले आफूलाई उभ्याइएको समय नकाट्न अनुरोध गरे। सभामुखले पनि उक्त समय नकाटिने जनाए।
लगत्तै कांग्रेसका सचेतक रमेश लेखकले छलफलमा मन्त्रीहरु उपस्थित नहुने र त्यसको सजाय सांसदहरुले भोग्नुपर्ने अवस्था भएको भन्दै सभामुखको ध्यानाकर्षण गराए।
सभामुख घिमिरेले यस्तो परिस्थिति नआउन सबैलाई सहयोगको अपिल गरे। र मन्त्रीहरुलाई पनि जिम्मेवार बन्न ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।