काठमाडौं- टी–२० विश्वकपअन्तर्गत गए राति भएको समूह ए अन्तरगतको खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । अमेरिकाले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
विराट कोहली गोल्डन डक हुनुका साथै कप्तान रोहित शर्मा ३ रन बनाएर पभिलियन फर्किएपछि खेलको सुरुमै भारत दबाबमा परेको थियो ।
त्यसपछि ऋषभ पन्त र सूर्यकुमार यादव मिलेर भारतको इनिङ्स सम्हाले । पन्त २० बलमा १८ रन बनाउँदै आउट भए ।
त्यसपछि सूर्यकुमार यादव र शिवम दुवे मिलेर भारतलाई जितसम्म पुर्याए । यादवले ४९ बलमा ५० रन बनाए भने दुवेले ३५ बलमा ३१ रन जोडे ।
प्रतियोगितामा भारतको यो लगातार तेस्रो जित हो । ३ खेलबाट ६ अङ्क बटुल्दै भारत सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अङ्कसहित दोस्रो स्थानमा छ ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो । टोलीका लागि नितिश कुमारले सर्वाधिक २७ रन जोडे । उनले २३ बलमा २ चौका र १ छक्का हिर्काए ।
त्यस्तै, स्टिभन टेलरले ३० बलमा २४ रनको योगदान दिए । उनले २ छक्का प्रहार गरे । कोरी एन्डरसनले १२ बलमा १५ रन तथा एरोन जोन्स र साड्ले भान स्काल्कवाकले ११–११ रन बनाए ।
भारतका लागि अर्शदीप सिंहले घातक बलिङ गर्दै ४ ओभरमा मात्र ९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पाण्ड्याले २ तथा अक्षर पटेलले १ विकेट हात पारे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।