काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले वेष्ट इन्डिजमा हुने टी-२० विश्वकपका खेलहरु खेल्ने पक्का भएको छ। उनी विश्वकप खेल्नका लागि वेष्ट इन्डिज पुगिसकेका छन्। सन्दीपले टी–२० विश्वकपमा सहभागी हुन आफू वेष्ट इन्डिज पुगेको जानकारी सोमबार सामाजिक सञ्जालमार्फत दिएका छन्।
‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्। छु तर दुर्भाग्यवश त्यो सफल हुन सकेन,’ उनले लेखेका छन्, ‘तर ती सबै कुरालाई पन्छाएर म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’
उनले थप लेखेका छन्, ‘मेरो सहयात्रालाई सम्भव बनाउनका लागि हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरो प्यारो पारस खड्का दाइ, मेरो वकिल सरोज घिमिरे दाइ, विनोद दास दाइ र प्रबल दाइ र प्रिय बालकृष्ण दाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’
चतुरबहादुर चन्द र पारस खड्काको छवि धुमिल बनाउने प्रयासबाट आफू दुःखी भएको समेत सन्दीपले बताएका छन् । क्यान र नेपाली क्रिकेटको छवि खराब गर्ने प्रोपोगान्डाको पछि नलाग्न पनि उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।