काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह एको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरको छ। आइतबार राति भएको खेलमा जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन बनायो।
खेलमा पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए। उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे।
इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए।
भारतका लागि जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा १ सय १९ रन बनाएको थियो।
खेलमा भारतले खराब सुरुवात गरेको थियो। मात्र १२ रन बनाउँदा विराट कोहली आउट भएका थिए भने १९ रनमा भारतले कप्तान रोहित शर्मालाई गुमाएको थियो।
कोहलीले ४ रन मात्र बनाउन सके भने शर्माले १२ बलमा १३ रन बनाए। उनले १ चौका र १ छक्का प्रहार गरे।
त्यसपछि ऋषभ पन्त र अक्षर पटेलले भारतको इनिङ्स सम्हाले। दुईले मिलेर ३० बलमा ३९ रन जोडे। पन्तले टोलीका लागि सर्वाधिक ४२ रन बनाए। ३१ बलको सामना गर्दै उनले ६ चौका हिर्काए।
अक्षर पटेलले १८ बलमा २० रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे।
पन्तले त्यसपछि सूर्यकुमार यादवसँग २२ बलमा ३१ रनको साझेदारी गरे। तर त्यसपछि भारतले लगातार विकेट गुमाउन पुग्यो।
पाकिस्तानका लागि नसिम शाह र ह्यारिस राउफले ३–३ विकेट लिए। ४ ओभर बलिङ गर्दै शाहले २१ रन मात्र खर्चिए। त्यस्तै, राउफले ३ ओभर बलिङ गर्दै २१ रन दिए। मोहम्मद आमिरले २ विकेट हात पारे।
भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।