काठमाडौँ- प्रमुख दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा सहकारीको रकम अपचलनका विषयमा बनाउने भनिएको संसदीय छानबिनको कार्यादेश लगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका नेताहरु सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
संसदीय छानबिन समिति बनाउनका लागि गठन गरिएको कार्यदलले समितिको कार्यादेशमा सहमति जुटाउन नसकेपछि शीर्ष तहका नेताहरूको बैठक बसेको हो। बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेता भने सहभागी भएका छैनन् ।
शुक्रबार बिहान बसेको संसदीय छानबिन समितिको कार्यादेश बनाउन बनेको कार्यदलको बैठक विना निष्कर्ष टुंगिएको थियो । शीर्ष तहमा सहमति खोज्ने गरी कार्यदलको बैठक सकिएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर संसदीय छानबिन समिति नबनाएसम्म संसद् बैठक चल्न नदिने बताएको छ। यही मागसहित कांग्रेसले शुक्रबारको संसद् बैठक पनि अवरुद्ध गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।