काठमाडौं– नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै सहमहामन्त्री बद्री पाण्डेले उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिए।
यदि आरोप पुष्टि गर्न नसके सदनबाट गलहत्याउन पनि कांग्रेस तयार रहेको चेतावनी दिए। उनले भने, ‘गृहमन्त्रीले हाम्रो पार्टी उपसभापति र महामन्त्रीमाथि जुन किसिमको लाञ्छना लगाउनुभयो म चुनौती दिन चाहन्छु, गृहमन्त्री र सरकारलाई कस्तो टीओआर बनाउनुपर्ने हो बनाउनुस् । हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै टिओआर लेख्नुपर्ने हो कि कांग्रेसकै नाम लेख्नुपर्ने परेपनि लेख्नुस् । छानबिनको समय पनि तोक्नुस् र छानबिनको निचोड हाम्रो उपसभापति र महामन्त्री दोषी हुनुभयो भने कांग्रेसका कोकोलाई कारबाही गर्न सक्नुहुन्छ ।’
उनले गृहमन्त्रीले देशको सूचना बेच्ने एजेण्ट भनेको व्यक्ति देखाउन पनि चुनौती दिए। पाण्डेले भने, ‘उहाँले देशको सूचना बेच्ने एजेण्ट यही सदनमा छ भन्नुभयो माननीय त्यो देखाउननुस् हामी गलहत्याउन तयार छौं, होइन तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई गलहत्याउने काममा चुक्ने छैनौं ।’
उनले गृहमन्त्रीले निराधार आरोप लगाएको रेडकबाट हटाउन माग गरे। यस्तै उनले प्रधानमन्त्री प्रचण्डले हिजो सगौरव चार पटक विश्वासको मत लिएको बताएकाले यो परिस्थिति आउनु अविश्वासकै कारण रहेको बताए।
सांसद पाण्डेले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा पनि आपत्ति जनाएका छन्। उनले भने, ‘कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको सुनेको छु। कोही दोषी छ भने कानुनी दायारमा ल्याउँ। नत्र आग्रह र पूर्वाग्रह राखेर यस्तो कदम चालिएको हो भने कांग्रेस सहँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।