काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहिआएको बताएका छन्।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार आयोजित  पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्षी दलले संसदमा प्रदर्शन गरिरहेको विरोधबाट आफूहरु आत्तिनुपर्ने कारण नभएको समेत बताए।
उनले नेपाली कांग्रेसले बिना प्रमाण र कसुर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद् बैठक अवरुद्ध नहुने दाबी गरे। ‘आरोपित व्यक्ति पहिले संसद्मा बोल्न पाउनुपर्छ। कांग्रेसले बोल्न पाउने अनि अन्यले नपाउने भन्ने हुन्छ? उसले बोलेको हामीले मात्रै सुन्नपर्ने? यस्तो संसदीय अभ्यास हुँदैन,’ ओलीले भने।
उनले देश र जनताका कामप्रति सांसदहरू गम्भीर हुनुपर्नेमा जोड दिए। एमाले संसदीय दलका नेता ओलीले भने, ‘मर्यादित संसदीय अभ्यासका लागि हामी समर्पित छौँ। संसद् अविलम्ब सुचारू हुनुपर्छ। कांग्रेसले पनि अब संयमता अपनाउनुपर्छ।’
परिस्थितिको आकलन गरी सबै राजनीतिक दललाई आफूहरुले मिलाएर लैजाने प्रयास गरिरहेको पनि उनको भनाइ थियो। अध्यक्ष ओलीले भने, ‘सदनमा भोलि हामी बहस गर्न तयार भएर जाऔँ, हामीले त्यहाँ बहस गर्न पाउनुपर्छ।’
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।