काठमाडौं-जारी आइपीएलअन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । योसँगै राजस्थानले प्लेअफमा स्थान लगभग पक्कापक्की गरेको छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ ।
१९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान सञ्जु सामसन ३३ बलमा ७ चौका र ४ छक्कासहित ७१ रनमा नट आउट रहँदै प्लेयर अफ द म्याच चुनिए । ध्रुब जुरेल ३४ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा नटआउट रहँदा यशस्वी जैसवाल २४, जस बटलर ३४ र रियान पराग १४ रनमा आउट भए ।
लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।
लखनउका लोकेश राहुलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाए । दीपक हुडा ३१ बलमा ७ चौकासहित ५०, क्विन्टन डि कक ८, मार्कस स्टोइनिस शून्य, निकोलस पुरन ११, आयुश बदोनी १८ र क्रुनाल पाण्ड्यले १५ रन जोडे ।
राजस्थानका सन्दीप शर्माले २, ट्रेन्ट बोल्ट, आवेश खानर रवीचन्द्रन आश्विनले एक/एक विकेट लिए । राजस्थान ९ खेलमा ८ मा जित र १ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । बाँकी ५ मध्य एक खेल जित प्लेअफ खेल्न पक्का हुनेछ ।
लखनउ ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।