काठमाडौं- एसीसी मेन्स प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ। १४० रनको मध्यम लक्ष्य पछ्याएको हङकङले तीन बल बाँकी छँदै जित हासिल गरेको हो।
यो हारसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप गुमाएको छ। तेस्रो भएको ङकङसँगै फाइनलमा पुगेका यूएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन्।
आजको खेल जित्नका लागि हङकङका अंशुमन राठले सर्वाधिक ६५ रन बनाए। उनले अविजित रहँदै ५० बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै बाबर हायातले २६ रनको योगदान दिए।
टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रनको स्कोर बनाएको थियो।
खराब सुरुवात गरेको नेपालका लागि १३९को स्कोरसम्म पुर्याउन दीपेन्द्र सिंह ऐरीको ब्याटिङको भूमिका महत्वपूर्ण रह्यो। उनले अन्तिम ओभरमा नै दुई छक्का र दुई चौका प्रहार गर्दै २० रन जोडेका थिए।
जम्मा २९ बल खेलेका ऐरीले तीन छक्का र चार चौका प्रहार गर्दै नटआउट ४४ रन जोडे। यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन जोडे।
ओपनर कुशल भुर्तेल शून्य रनमै डकआउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यता हङकङका लागि आयुस श्क्लाले तीन विकेट लिँदा अतीक इकबाल, यासिम मर्तजा र इसान खानले १/१ विकेट लिए। नेपालका लागि सोमपाल कामीले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।