काठमाडौं– एसीसी मेन्स प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले हङकङलाई १४० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रनको स्कोर बनायो।
खराब सुरुवात गरेको नेपालका लागि १३९को स्कोरसम्म पुर्याउन दीपेन्द्र सिंह ऐरीको ब्याटिङको भूमिका महत्वपूर्ण रह्यो। उनले अन्तिम ओभरमा नै दुई छक्का र दुई चौका प्रहार गर्दै २० रन जोडेका थिए।
जम्मा २९ बल खेलेका ऐरीले तीन छक्का र चार चौका प्रहार गर्दै नटआउट ४४ रन जोडे। यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन जोडे।
ओपनर कुशल भुर्तेल शून्य रनमै डकआउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यता हङकङका लागि आयुस श्क्लाले तीन विकेट लिँदा अतीक इकबाल, यासिम मर्तजा र इसान खानले १/१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।