काठमाडौँ- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)को सामना गर्ने भएको छ। नेपाल समूह एबाट विजेता बन्दै सेमिफाइनल पुगेको हो भने यूएईले समूह बीको उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्यो।
नेपाल समूह चरणका ४ वटै खेल जित्दै शीर्ष स्थानमा रह्यो। यूएई भने ४ मा ३ वटा खेलमा विजयी हुँदै समूह बीको उपविजेता बन्यो। समूह एबाट हङकङ ४ खेलमा २ खेल जितेर उपविजेता बन्यो भने समूह बीबाट ओमान ४ खेलमा अपराजित बन्दै सेमिफाइनलमा प्रवेश गर्यो।
सेमिफाइनलमा समूह एको विजेता नेपाल र समूह बीको उपविजेता यूएई तथा समूह बीको विजेता ओमान र समूह एको उपविजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ।
सेमिफाइनल खेलहरु शुक्रबार हुनेछन्। सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल आइतबार हुनेछ।
प्रतियोगिता विजेताले टी-२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।