काठमाडौँ- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले गरेको दाबी अस्वीकृत भएको छ। प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका हुन्।
आइतबार मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन नाउपा रेशम चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरी र सोही पार्टीको रञ्जिता चौधरी पक्षधर कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
प्रदेश प्रमुख मियाँले दुवै जनाको दाबी नपुगेको भन्दै पुन: २ दिन समय दिएर दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन्।
मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जारी गरेको सूचनामा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।