काठमाडाै- ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले सोमबार हङकङको सामना गर्दैछ ।
खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो तेस्रो खेल हो ।
जारी प्रतियोगितामा नेपाली टोली लगातार तेस्रो जितको खोजीमा छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाली टोलीले शनिबार खेलिएको आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।
कतारविरुद्धको खेलमा नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक रेकर्ड बनाएका थिए ।
नेपालका लागि दीपेन्द्रले आक्रामक पाली खेल्दै केवल २१ बलमा अविजित ६४ रन बनाएका थिए । यस क्रममा उनले सात छक्का र तीन चौका प्रहार गरेका थिए । उनले अन्तिम ओभरमा कतारका बलर कमरान खानको बलमा लगातार ६ वटा छक्का हिर्काएका थिए ।
पुरुष टी–२० क्रिकेटको इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने उनी नेपालका एकमात्र ब्याट्सम्यान हुन् । विश्व क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने उनी केवल तेस्रो खेलाडी हुन् । यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा युवराज सिंह र केइरन पोलार्डले यस्तो उपलब्धि हासिल गरेका थिए ।
जारी एसीसी प्रिमियर कपमा नेपाल दुई खेलबाट चार अङक बटुल्दै समूह ‘ए’ तालिकाको पहिलो स्थानमा न छ । दुई खेलबाट दुई अङक जोडेको साउदी अरेबिया तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
यसैगरी दुई खेलबाट दुई अङक बटुलेको मलेसिया तेस्रो स्थानमा छ । दुई खेलबाट दुई अङक हात पारेको हङकङ भने चौथो स्थानमा झरेको छ । हङकङ आफ्नो पछिल्लो खेलमा आइतबार साउदी अरेबियासँग ५५ रनले हारेको थियो ।
यसैगरी दुई खेल खेलेको कतारले भने हालसम्म अङक बटुल्न सकेको छैन । प्रतियोगिताअन्तर्गत सोमबार नै समूह ‘ए’ को अर्को खेल मलेसिया र कतारबिच हुदै छ । सोही दिन समूह ‘बी’ मा रहेका ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) तथा कुवेत र बहराइन आपसमा भिड्ने छन् ।
नेपाल यस पटक पनि उपाधी जितेर एसिया कप आउने लक्ष्य राखेर मैदानमा उत्रिरहेकाे छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।