काठमाडौं– आजदेखि ओमानमा सुरु भएको एसीसी प्रिमियर कप अन्तर्गत पहिलो खेलमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको हो। मलेसियाका लागि ओपनर विरेनदीप सिंहले उत्कृष्ट अर्धशतकीय पारी खेले। ५६ बलको सामना गरेका उनले नटआउट ७२ रन बनाए। जसमा उनले चार चौका र चार छक्का प्रहार गरेका थिए।
यस्तै मलेसियाका शरवीन मुनिन्देले ४१ रन बनाए भने मोहम्मद अमिरले १६ रन बनाए। सायद अजिजले ६ रन बनाउँदा नज्मुस सकिबले नटआउट ३ रनको योगदान दिए।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार ओभरमा मात्र १४ रन खर्चिँदै २ विकेट लिए। अविनाश बोहोराले चार ओभरमा २८ रन खर्चिएर एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।