काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा हुने तेस्रो नेपाल लगानी सम्मेलनका सम्बन्धमा नेपालस्थित कूटनीतिक नियोगहरू, विकास साझेदार तथा कार्यान्वयन साझेदार संयुक्तराष्ट्र संघीय निकायका प्रमुखहरूसँग छलफल एवं परामर्श गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले नेपालले लगानीको वातावरण सुधारका लागि महत्वपूर्ण कानुनी, संस्थागत र प्रक्रियागत सुधार तथा लगानी परियोजनाहरू समेत तयार रहेको जानकारी गराउँदै सम्मेलनमा सम्भाव्य विदेशी लगानीकर्ताहरूको उल्लेख्य सहभागिताका लागि कूटनीतिकनियोगहरू र विकास साझेदारहरूको सहयोग नेपाल सरकारले अपेक्षा गरेको बताए।
लगानी सम्मेलनमा विभिन्न क्षेत्रका सम्भाव्य परियोजनाहरू शोकेस, मार्केट साउन्डिङ तथा लगानी आह्वान गरिने हुँदा विदेशी लगानीकर्ताहरूलाई यो अवसर उपयोग गर्नका लागि यहाँहरूबाट सन्देश प्रवाहित हुने छ भन्ने नेपाल सरकारले विश्वास लिएको छ,’ उनले भने, ‘सरकार लगानीको पूर्ण सुरक्षाका लागि प्रतिवद्ध छ। लगानीकर्ताको चासो र उनीहरूले सामना गर्नुपरेका समस्यालाई तत्काल सम्बोधन गरिनेछ।’
प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनको सफलता परियोजनामा व्यक्त हुने लगानीको प्रतिवद्धता र त्यसको प्राप्ति (रियलाइजेसन) मानिर्भर हुने हुने भन्दै लगानी सहजीकरणका लागि लगानीबोर्डको कार्यालय र उद्योगविभागमार्फत विदेशी लगानीलाई व्यवस्थित गरिएको उल्लेख गरे। कूटनीतिक नियोग, दातृनिकाय तथा लगानीकर्ताको सुझावलाई समेत मध्यनजर गर्दै नेपाललाई लगानीकर्ताको मुख्य छनोटको गन्तव्य बनाउन पहल गरिएको उनको भनाइ थियो।
छलफल कार्यक्रममा मुख्यसचिव बैकुण्ठ अर्यालले द्विपक्षीय लगानी समझदारीको फ्रेमवर्क मन्त्रिपरिषद्बाट पारित भैसकेको जानकारी गराउँदै लगानी सम्मेलनमा शोकेस हुने परियोजनाहरूको सूची र विवरण छिट्टै सार्वजनिक गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।