काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा रोड्रिक ओर्भिली इस्टविक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सामाजिक सञ्जालमार्फत उनलाई बलिङ कन्सल्टेन्टको रुपमा नियुक्त गरेको जानकारी दिएको हो।
बार्बाडोसका तीव्र गतिका बलर ६३ वर्षीय रोड्रिकले आगामी टी-२० विश्वकपसम्म नेपाली टोलीलाई हेर्नेछन्।
यसअघि एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीमा बलिङ प्रशिक्षकको काम गरिसकेको अनुभव भएकाले नेपाललाई निकै फलदायी हुने अपेक्षा गरिएको छ।
सन् २०१६ देखि २०२२ मा उनले वेस्ट इन्डिजमा काम गरिसकेका छन्। नेपाली प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षकका रुपमा काम गर्दा उनी पनि सँगै थिए। उनले इन्डियन प्रिमियर लिग आईपीएलमा पनि बलिङ कोचको काम गरेका छन्।
एस्टविक यही साता ओमानमा हुने एसीसी मेन्स प्रिमियर कपबाट टोलीमा आवद्ध हुनेछन्। नेपाली टोली पनि भारतबाट सिधै ओमान जानेछ।
नेपालको ब्याटिङको तुलनामा बलिङमा कमजोरी देखिँदै आएको छ। सोही कारण क्यानले उनलाई भित्र्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।