काठमाडौं- अर्थविद् केशव आचार्यले विगतका लगानी सम्मेलनमा भएका प्रतिवद्धतालाई कार्यान्वयन गर्न नसक्ने सरकारले अर्को लगानी सम्मेलन गर्दा देशको बद्नाम मात्रै हुने टिप्पणी गरेका छन्। अर्थविद् आचार्यले आगामी वैशाख १६ र १७ गते सरकारले गर्न लागेको लगानी सम्मेलनका विषयमा यस्तो टिप्पणी गरेका हुन्।
सरकारले २०७३ सालको लगानी सम्मेलन १४ खर्ब र २०७६ सालको लगानी सम्मेलनमा ३३ खर्बको प्रतिवद्धता आए पनि कार्यान्वयनमा राज्य संयन्त्र नलागेको उनले बताए। उनले भने, ‘लगानीको लागि आएका प्रतिवद्धता कार्यान्वयनको लागि चासो नराख्ने देशले पुनः लगानी सम्मेलनको नाममा तमासा देखाउँदा देशको बद्नाम मात्रै हुन्छ।’
अर्थविद् आचार्यले अहिले लगानी सम्मेलन गर्ने उचित समय नभएको धारणा पनि राखे। निजी क्षेत्र,किसान खुसी नभएको र लघुवित्त,सहकारी, मिटरब्याज पीडितहरु आन्दोलित भएको समयमा लगानी सम्मेलन सफल बनाउन समस्या हुने उनको भनाइ थियो।
आचार्यले भने, ‘अहिले बैंकमा पैसा थुप्रिएर ६ खर्ब बराबरको तरलता हुँदा समेत लगानीको लागि बैंकमा ऋण लिन जाने वातावरण बनाउन सकेको छैन। सरकारले मुलुक भित्रका लगानीकर्तालाई विश्वासमा लिन नसकेको अवस्थामा विदेशी लगानीकर्ता आएर नेपालका लगानी गर्ने सम्भावना छैन।’
उनले मुलुकमा सरकारको समीकरण बारम्बार परिवर्तन भइरहेकाले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राम्रो सन्देश नगएको बताए। लगानी सम्मेलन सफल बनाउन निजी क्षेत्रलाई विश्वासमा लिन आवश्यक रहेको उनको धारणा थियो।
अर्थविद् आचार्यले सरकारले मुलुकको समृद्धिको लागि पुराना अनुभवी राजनितिज्ञ, कर्मचारी, प्रध्यापक, कलाकार, साहित्यकारहरुसँग बहस गर्न आवश्यक देखिएको बताए। ‘लगानी सम्मेलन सफल बनाउनको लागि किसान,उद्योगी व्यवसायीहरुलाई राज्यले संरक्षण गर्न आवश्यक छ,’ उनले भने।
-न्युज एजेन्सी नेपाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।